नर्भिकमा २३ वर्षे गर्भवतीको दुर्लभ एनोरिजमको उपचार, आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो

0
1028

स्वास्थ्य खबरपत्रिका२०७६ भदौ २९ आइतबार १५:०१:२१ प्रकाशित 

काठमाडौं– थापाथलीस्थित नर्भिक अस्पतालमा गर्भवतीमा भएको दुर्लभ एनोरिजमको सफल उपचार गरिएको छ। २३ वर्षीया कुसुम खड्काको मस्तिष्कमा फुटेको एनोरिजमको सफल शल्यक्रिया गरिएको हो।

एनोरिजम फुट्दा खड्का २६ हप्ताकी गर्भवती थिइन्। उनको मस्तिष्कमा रहेको नसाको एनोरिजम फुटेर मस्तिष्कमा रक्तश्राव भएको थियो। नर्भिकमा डा राजीव झाको नेतृत्वको टोलीले उनको सफल शल्यक्रिया गरेको हो। उक्त टोलीमा डा राजेन्द्र श्रेष्ठ र डा विकास शाह सहित नर्सिङ टोली थियो। 

शल्यक्रियापछि आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य सामान्य रहेको उपचारमा संलग्न डा झाले जानकारी दिए। ‘हामीले आमा र गर्भमा रहेको बच्चा दुवैको जीवन बचाउनुपर्ने थियो,’ उनले भने, ‘सामान्य अवस्थामा भन्दा गर्भवतीको एनोरिजमको शल्यक्रिया झन् जोखिम हुन्छ। यसमा हाम्रो टिमले कुशलतापूवर्क काम गर्न सफल भयौँ।’

शल्यक्रियापछि केही दिनको अस्पताल बसाइपछि खड्कालाई डिस्चार्ज गरिसकेको उपचारमा संलग्न अर्का डा विकास शाहले जानकारी दिए।

डा झाका अनुसार एनोरिज भनेको रगतको नशाको पर्खाल कमजोर भएर नसा बेलुनजस्तै फुल्नु हो। यसरी फुलेको नशा जतिबेला पनि फुट्ने खतरा रहन्छ। एनोरिजम फुट्यो भने मस्तिष्कघात भएर मानिसको मृत्यु समेत हुन्छ। त्यसकारण समयमा र दक्ष जनशक्तिको टिमले यसको उपचार गर्नुपर्ने हुन्छ।

‘एनोरिजमलाई हामी दिमागको बम भनेर भन्छौं,’ डा झाले भने, ‘उक्त बम जति बेला पनि फुट्न सक्छ र समयमा नै उपचार भएन भने मानिसको ज्यान समेत जान्छ।’ उनका अनुसार एनोरिजम फुटेका बिरामीमध्ये ५० प्रतिशत बिरामी अस्पताल नै पुग्दैनन्। अस्पताल पुगेकामध्ये पनि ५० प्रतिशतको उपचारका क्रममा नै ज्यान जाने गर्छ।

गर्भवती खड्कालाई समयमा नै ल्याइएको र अस्पतालको दक्ष टिमले उपचार गर्न सफल भएको डा शाहले जानकारी दिए। उनका अनुसार गर्भवती खड्काको फुटेको एनोरिजमलाई क्लिपिङ गरेर नसाबाट रगत बाहिर जान बन्द गरिएको हो। एनोरिजिम फुटेपछि शल्यक्रिया मार्फत फुटेको स्थानबाट रक्तश्राव हुन रोक्नु पर्छ। शल्यक्रिया मार्फत एनोरिजम भएको नसामा विशेष किसिमको क्लिपिङ वा क्वाइलिङ राखेर रक्तश्राव रोक्ने काम हुन्छ।

सामान्य अवस्थामा भन्दा गर्भावस्थामा एनोरिजम फुट्यो र शल्यक्रिया गर्नुपर्‍यो भने थप जटिलता आउने डा शाह बताउँछन्। पेटमा रहेको बच्चासँगै गर्भवतीको मुटुको अवस्थामा विशेष ख्याल गर्नुपर्ने हुन्छ। 

सामान्यतया बच्चा जन्माउने उमेरका महिलामध्ये एक दशमलव ८ प्रतिशतमा एनोरिजम हुने सम्भावना रहन्छ। यस्तै गर्भवतीमध्ये एक दशमलव ४ प्रतिशतमा एनोरिजम फुट्ने खतरा रहन्छ। 

एनोरिजम फुटेपछि बिरामीको मस्तिष्कमा जति धेरै रक्तश्राव भयो त्यति धेरै जोखिम बढी हुने गर्छ। एनोरिजमको शल्यक्रिया निकै जटिल र तनावपूर्ण हुन्छ। शल्यक्रियाका क्रममा रक्तश्राब बढ्यो भने बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ। अझ गर्भावस्थामा त यो जोखिम झन् बढी हुने गर्छ। त्यसकारण दक्ष र चुस्त जनशक्ति र शल्यक्रियाको सुविधा भएको संस्थामा उपचार गर्नुपर्ने चिकित्सकहरु सुझाउँछन्।