बिरामीलाई छाडेर टिका थाप्न कहाँ जाने ?

0
862
Source: Onlinekhbar
Published on: २०७६ असोज १४ गते १८:५४
प्रस्तुती : सुदर्शन अर्याल

चिकित्सकहरुको पेशा नै त्यस्तै, कुनैपनि कामको लागि योजना बनायो । काम सुरु भएपछि अस्पतालबाट फोन आउँछ ‘बिरामी क्रिटिकल अवस्थामा छन् । तुरुन्त आउनु पर्‍यो ।’

आफ्नो व्यक्तिगत कामलाई थाँती राखेर एउटा बिरामीको ज्यान जाओस् भन्ने सोचाई त कसको पो हुन्छ र ? काम बीचैमा छाडेर जानुपर्छ । यो एक/दुई पटक मात्रै होईन । यस्ता फोनहरु अझ लामो समय काम गरेर विशेषज्ञता हाँसिल गरिसकेकाहरुलाई त झनै बारम्बार आईरहन्छ । त्यसैले अधिकांश विशेषज्ञ चिकित्सकहरुको पर्व र उत्सव अस्पतालभित्र बिरामीको शैयामा नै बित्ने गरेको हुन्छ । ती उत्सवहरु आफ्नो परिवारको साथमा ढुक्कसँग मनाउने कल्पना उनीहरुको लागि केवल कल्पनामा मात्रै सीमित हुने गरेको छ ।

त्यस्तै चिकित्सक मध्येका एक हुन् वीर अस्पताल र नर्भिक अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख डा. राजीव झा । जसको आजसम्म कुनैपनि विजयादशमीको त्यस्तो दिन छैन । जुन दिन अस्पतालमा नयाँ बिरामीको उपचार गराउनु नपरेको होस् । चिकित्सक बनेर बिरामीको सेवा गर्न थालेपछि अहिलेसम्म कुनैपनि दशैं उनले परिवारसँग ढुक्कसाथ मनाउन पाएका छैनन् ।

जनकपुर स्थायी घर भएका झाले यही कारणले बुबाआमालाई पनि काठमाडौंमा नै बोलाएका छन् । हरेक दिन तीनवटै अस्पतालमा नियमित राउण्डमा जानुपर्ने भएपछि काठमाडौं छाडेर जाने सम्भावना त कमजोर नै भईहाल्यो ।

उपत्यका छाडेर गएपनि ढुक्कसँग आफ्नो व्यक्तिगत काममा लाग्न त कहाँ पाउँछन् र ? त्यसैले उनले आमाबुबालाई पनि काठमाडौंमा नै बोलाएकोले दशैं हरेक वर्ष काठमाडौंमा नै मनाउने गरेका छन् । तर, काठमाडौंमा नै मनाउने दशैंको टीका समेत तोकिएको साईतमा कहिलेपनि मनाउन नपाएको उनको गुनासो छ । तिनै झाले अनलाईनखबरसँग दशैंको अनुभव साटेका छन् ।

टिका लगाउँदा लगाउँदै इमर्जेन्सी केस आइलाग्छ

मेरो पछिल्लो २० वर्षे समयावधिमा कुनैपनि यस्तो विजयादशमी छैन जुन दिन म अस्पतालमा गएर बिरामीको उपचार नगरेको हुँ । कुनैदिन टीका लगाउने तयारी पूरा भईरहँदा अकस्मात् छाडेर जानुपर्छ त कहिले टीका लगाउँदा लगाउँदै । म हरेक दिन वीर अस्पताल, ट्रमा सेन्टर र नर्भिक अस्पतालमा नियमित राउण्डमा जानैपर्ने हुन्छ ।

बिरामीको त्यो हालत छाडेर ‘१० बजेको साईतमा टीका लगाएर आउँछु’ भन्न पनि मिलेन । पुराना बिरामीको अवस्था हेर्न जाने एउटा काम भयो । फेरि नयाँ बिरामीहरु जतिसुकै बेला पनि आउनसक्ने भएकोले हाम्रो दशैं कहाँ बित्छ ? भन्ने निश्चित नै हुँदैन ।

बुबाआमालाई काठमाडौंमा नै ल्याएपछि उहाँहरुसँग त दैनिकजशो नै भेट हुन्छ । तर, चिकित्सा क्षेत्रमा आएपछि ससुराली भने म जम्मा एक पटक मात्रै जान पाएको छु । दशैंमा टीका लगाउन जाने कुरा त परैको भयो ।

म नेपालमा भएसम्म कुनैपनि पर्व, उत्सव र सामाजिक कामहरु वा भेटघाटको लागि पूर्व निर्धारित योजना बनाउन सकेको छैन । अस्पतालका कारण नै अरु कुनैपनि योजना तोकिएको समयमा पूरा गर्नै सकिएको छैन भने किन योजना मात्रै बनाउनु जस्तो लाग्छ ।

परिवारसँग बस्ने मेलोमेसो मिलेन

अघिल्लो तिहारको कुरा हो । अस्पतालको काम सकेपछि आज चाहिँ परिवारसँगै बसेर दीपावली मनाउँछु भनेर सुरु मात्रै गरेको थिएँ । अस्पतालबाट फोन आयो । अझ केस कि्रटिकल छ पनि भन्नुभयो । अब मैले त्यस्तो अवस्थामा बिरामीलाई कुराएर दीपावली गरेर बस्नुको औचित्य थिएन ।

त्यसै छाडेर म अस्पतालतिर दौडिएँ । एक जना सर्जन नै बिरामी हुनुभएको रहेछ । रातभरी लगाएर उपचार सफल गरियो । त्यो दीपावली त्यही अस्पतालको बत्ति हेरेर नै बिताउनु परेको थियो । यस्ता घटनाहरु अहिले सामान्य लाग्ने गरेको छ । मलाई मात्रै होईन अहिले त परिवार पनि यसमा अभ्यस्त भईसकेका छन् ।

मासु र तासको कुरा

दशैंलाई धेरैले तास खेल्ने पर्व भनेर समेत चिन्दा रहेछन् । मलाई त खासै तास खेल्न पनि आउँदैन र खेलेको पनि छैन । यो प्रोफेसनमा आएपछि त तास खेल्न पाएको पनि छैन । धेरै वर्षपछि एक पटक साथीकोमा गएर कलब्रेक खेलेको थिएँ । धेरैले तासमा पनि म्यारिज खेल्ने गर्दा रहेछन् । मलाई त त्यो खेल्न आउँदैन । समय पनि नभएर हो कि ? तास खेल्दा खासै रमाईलो लाग्दा पनि लागेन कहिलै पनि ।

मासुको कुरा गर्दा अरुबेला जतिसुकै मासु खाएपनि दशैंमा मासु खाएको स्वाद नै भिन्दै लाग्छ । त्यो मनोवैज्ञानिक कारणले पनि हुनसक्छ । दशैंको दिन घरमा मासु पाकिरहेको छ भनेर पहिलेदेखि नै उत्साह हुने गर्दछ । स्वादमा पनि फरक भएको अनुभव गर्छु । मैले मासु त सर्प, भ्यागुता लगायत केही पशुपंक्षीबाहेक अरु सबैथोकको खाएको छु । घिन भन्ने चिज नै अहिले त हराईसकेको छ । तर, पनि दशैंमा सधैं खाएको खसीबोकाको मासु पनि ‘फेस्टी मुड’ भएकोले होला साह्रै स्वादिष्ट र भिन्न स्वादको लाग्ने गर्दछ ।

हतारै हतारकाबीच मनाउने दशैं घरमा धेरै समय बस्न नपाए पनि साह्रै रमाईलो लाग्छ । अरुले जस्तो पिङ खेल्ने, साथीहरुसँग घुम्नजान त फुर्सद मिल्दैन । अहिलेसम्म दशैंमा काठमाडौं छाडेर कतैपनि पुगेको छैन । बरु दशैंको भोलिपल्ट भएपनि बुबाआमासँग चाहिँ टीका लगाएकै हुन्छु । अरु आफन्तहरुसँग चाहिँ समय मिलेको खण्डमा मात्रै हो ।

प्रस्तुती : सुदर्शन अर्याल