डा. राजीव झा, स्नायु शल्यचिकित्सक
Source: बाह्रखरी
Published on: २०७३ चैत ४ शुक्रबार ००:१०:००
शरीरमा टाउकोदेखि गोडाको औँलासम्म नशा हुन्छ । नशा जुनसुकै ठाउँमा च्यापिन सक्छ । विशेषगरी टाउको, घाँटी, ढाडको नशा च्यापिन्छ तर सबैभन्दा बढी ढाडको च्यापिन्छ । मेरुदण्डको नशा च्यापिँदा त्यसले हातखुट्टामा समस्याहरू देखिन्छ ।
मेरुदण्डमा पनि तीन–चारवटा भाग हुन्छ–घाँटीको, बीचको भाग, थोरासिक स्पाइन, सर्भाइकल स्पाइन, लम्बर स्पाइन आदि ।
संसारभर अहिलेसम्म मानिसहरू डाक्टरकोमा जाने प्रमुख कारण टाउको दुखाइ हो र अर्को ढाडको समस्या । ५५–६० वर्षका मानिसहरूमा ९० देखि ९५ प्रतिशतलाई ढाड दुख्ने समस्या ।
सामान्यतयाः उमेर बढ्दै जाँदा ढाडको हड्डी खिइन्छ । हड्डीको स्ट्रेन्थ घट्दै जान्छ । हातखुट्टा चलाउने, दिसापिसाब कन्ट्रोल गर्ने सबै नशा मेरुदण्डकै नशाबाट निस्किएको हुन्छ ।
त्यसकारण घाँटीको नशा च्यापियो भने घाँटी दुख्ने, दुवै हातमा करेन्ट लागेको जस्तो हुने, झमझमाउने, राति सुत्दा हात मरेको जस्तो अनुभव हुने, विस्तारै छोएको थाहा नपाउने र पावर कम हुँदै जाने लक्षणहरू देखिन्छ ।
धेरै च्यापिएको छ भने दुई हातमात्र नभएर दुवै गोडा पनि कमजोर हुँदै जान्छ र दिसापिसाब गएको थाहा नपाउने हुन्छ । घाँटीको नशा च्यापिँदा टाउको दुख्ने र रिंगटा लाग्ने समस्या पनि त्यत्तिकै हुन्छ ।
सबैभन्दा बढी नशा च्यापिने भनेको लम्बर स्पाइन अर्थात् तल्लो ढाड हो । ढाडको पाँचवटा स्पाइन हुन्छ र सबैभन्दा बढी समस्या लम्बर स्पाइनले दिएको हुन्छ ।
नशा च्यापिने कारण
हड्डीहरू कमजोर भई खिएर, इन्फेक्सन भएर, चोट लागेर, लडेर, चिप्लेर, भारी उचालेर नशा च्यापिने हुन्छ ।
ढाडको तलको नशा च्यापिएको छ भने सबैभन्दा पहिले धेरै ढाड दुख्ने, कुनै एउटा खुट्टामा पछाडिपटि माथिदेखि तल कुर्कुचासम्म करेन्ट लागेको जस्तो हुन्छ । यसमा धेरै दुख्ने हुन्छ । हिँड्न, सुत्न पनि गाह्रो हुन्छ ।
ढाडको नशा च्यापिएको छ भने दिसापिसाब गएको थाहा नहुन सक्छ । वीर अस्पतालमा ओपीडीमा आएका बिरामीमध्ये ६० देखि ७० प्रतिशत ढाड दुखेर नै आएका हुन्छन् ।
विदेशबाट आउने मानिसहरूमा ढाडको समस्या एकदमै रहेको पाइएको छ । विदेशमा काम गर्न गएका युवाहरूमा रहेको मुख्य र सबैभन्दा बढी समस्या नै यही हो । सायद उनीहरूले विदेशमा भारी काम गरेर, पोजिसन नमिलेर यो समस्या एकदम देखिएको हो ।
कसरी थाहा पाउने नशा च्यापिएको ?
साधारण एक्स–रे, एमआरआई र केही रगत जाँच गर्नुपर्छ । एमआरआई गरेपछि कहाँको नशा कति च्यापिएको छ भनेर देखिन्छ ।
२५–३० वर्षदेखिका ५० वर्षको मानिसमा जोसँग काम गर्ने उमेर छ, उसलाई बढी नशा च्यापिने समस्या हुन्छ ।
अहिलेसम्म नशा च्यापिएको समस्या लिएर आउने बिरामीमध्ये सयौँ संख्यामा रहे पनि त्यसमध्ये ८०–९० प्रतिशतको औषधि दिएर, ढाडमा लाउने बेल्ट लाएर र फिजियोथेरापी गरेर ३–४ हप्तामा ठीक पारेको छु । सबै उपचार गरेर ठीक भएन भने १० प्रतिशतमा अपरेसन गर्नुपर्छ । गोडाको औँलाहरू नै नचल्ने कमजोर भइसकेको, दिशापिसाब गएको थाहा नपाउने भएकाको अर्जेन्ट सर्जरी गर्नुपर्छ ।
जोखिम
घाँटीमात्र नभएर ढाडकै भए पनि माथितिरको नशा च्यापिएको हो भने प्यारालाइसिस हुने डर हुन्छ । अहिलेसम्म पनि मानिसमा चेतना कम छ, त्यसैले अप्रेसन गर्न डराउँछन् र दुखाइ सहेरै जिन्दगी बिताउन बाध्य भएका छन् । तर नशा च्यापिएको समस्याको अप्रेशन धेरै साधारण हुन्छ । यो अप्रेशन गरेर प्यारालाइसिस हुने सम्भावनाबाट बच्न सकिन्छ ।
अप्रेशन सानो हुन्छ । २ सेन्टिमिटर प्वाल पारेर कुर्कुरे हाडभित्र चेपिएको नशा निकाल्ने हो । अप्रेसन गरेको भोलिपल्टदेखि नै मानिस सामान्य हिँड्न, दालभात खान, काम गर्न सकिन्छ । एउटै समस्या भनेको अप्रेशन गरेको घाउमा इफेक्सन हुन सक्छ । त्यस्तो हुँदा लामो समयसम्म औषधि खाने, आराम गर्ने गर्नुपर्छ ।
(वीर अस्पतालमा कार्यरत डा. झासँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित)